२०७७, २४ भाद्र बुधबार १५:३८

कोरोनाले नेपालमा केही व्यवसाय सधैका लागी बन्द

प्यूठान जागरण संबाददाता
भाद्र २४, काठमान्डौ । कोरोनाका कारण सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण मुलुकका पौने दुई लाख साना उद्यमहरू सधैँका लागि पलायन भएका छन । लघु तथा साना उद्यममध्ये २० प्रतिशत अब खुल्नै नसक्ने गरी विस्थापित भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

मुलुकमा ९ लाख २३ हजार ३ सय ५६ उद्योग प्रतिष्ठानहरू रहेको तथ्यांक विभागको राष्ट्रिय आर्थिक गणनाले देखाएको छ । त्यसमध्ये घरेलु तथा साना उद्यम व्यवसाय ९ लाख १९ हजार ३ सय ११ रहेकोमा त्यसको २० प्रतिशत अर्थात् १ लाख ८४ हजार व्यवसाय स्थायी रूपमा बन्द भएको आकलन छ ।

कोरोना जोखिमका कारण भएको निरन्तरको लकडाउन र त्यसबाट सिर्जित विषम परिस्थितिले घरेलुु, साना तथा मझौला उद्यम–व्यवसाय पलायन नै हुने अवस्थामा पुुगेको घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले बताउनु भयो । ‘देशभर महासंघका सदस्य ४ लाख १८ हजार छन्, तीमध्ये २० प्रतिशत कोरोनाकै कारण पलायन भएको अनुमान छ, समग्रतामा पनि यही अनुपातमा व्यवसायी विस्थापित भएको हुनुपर्छ,’ कटुवालले जानकारी दिनुभयो ।

लघु, घरेलु तथा साना उद्योग–व्यवसाय उठ्नै नसक्ने गरी थला पर्न थालेको महासंघका उपाध्यक्ष कटुवाल बताउनु हुन्छ । आफ्ना पसलमा भएको सामग्री बिक्री गर्दासमेत भाडा तिर्न नपुग्ने अवस्था आएपछि धेरै व्यवसायीहरू सटर नै बन्द गरेर हिँड्न थालेको उहाँको भनाई । ‘व्यवसायीहरूले दुःख–सुख लकडाउन धानेका थिए, तर अब निषेधाज्ञा धान्न नसकिने अवस्थामा पुुगेका छन्,’ नेपाल ग्रिल व्यवसायी महासंघका अध्यक्ष समेत रहेका कटुवालले भने, ‘व्यवसाय पुनरुत्थान गर्ने कुरा त परको हो, अहिले त व्यवसायीहरूलाई हातमुख जोर्नै पो गाह्रो भएको छ ।’

सुुरक्षाको विधि अपनाएर क्रमशः उद्योग–व्यवसाय खोल्दै जानुको विकल्प नरहेको भन्दै स्थानीय तहले लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसम्म लैजाने र सुरक्षा मापदण्ड अपनाएर सटर खोल्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल भने ४० प्रतिशत व्यवसायी पलायन नै हुने अवस्थामा पुुगेका छन । ‘अहिले काठमाडौंलगायत मुख्य सहरका व्यवसाय बन्द भएको कारण धेरै सटर भाडामा उपलब्ध छन्,’ उनले भने, ‘करिब ६ महिनादेखि सटर बन्द गरेर बस्नुपरेको छ, एकातर्फ आम्दानी छैन भने अर्कातर्फ बैंकको साँवा–ब्याज, घरभाडा, घरखर्चलगायत दायित्व बढेको बढ्यै छ ।’ लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि व्यवसाय बन्द हुँदा उद्यमी–व्यवसायी मानसिक तनावमा गइसकेको उहाँको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *