२०७८, १० माघ सोमबार १३:४५

आफ्ना कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

प्यूठान जागरण संंवाददाता
१० माघ, काठमाडौं । रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरूलाई निर्देशन दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरूलाई युक्रेन छाड्न भनेको हो । युक्रेनमा रहँदै आएका आफ्ना नागरिकहरूलाई पनि युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले भनेको छ ।

रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको भन्दै अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त आदेश जारी गरेको बीबीसीले जनाएको छ । यद्यपि रुसले भने युक्रेनमा आक्रमण गर्ने योजनाको खण्डन गर्दै आएको छ ।

रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । रुसविरुद्ध उभिएको अमेरिकाले हालै युक्रेनमा हतियारसहितका सहायता सामग्री पठाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै रुसले युक्रेनविरुद्ध ठूलो सैन्य कारबाही गर्ने योजना बनाइरहेको जनाएको छ । अमेरिकाका अनुसार सुरक्षाको दृष्टिकोणले अहिले परिस्थिति अप्रत्यासित छ र केबल एक सानो सूचनाले स्थिति भयावह हुनसक्छ ।

उत्तरी एटलान्टिक सन्धि संगठन (नाटो)का प्रमुखले पनि युरोपमा नयाँ संघर्षको खतरा रहेको बताएका छन् ।
रूसलाई ब्रिटेनको चेतावनी

यसैबीच ब्रिटेनले एक औपचारिक बयान जारी गर्दै रुसले आफ्नो समर्थकलाई युक्रेनको सत्तामा पुर्याउन चाहेको जनाएको छ । त्यसका लागि युक्रेनका पूर्वसांसद येवहेन मुरायेव सम्भावित उम्मेदवार हुन सक्ने ब्रिटेनको भनाइ छ ।

यदि रुसले युक्रेनमा आक्रमण गरेमा त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि ब्रिटेनले दिएको छ । ब्रिटेनका विदेश मन्त्रीले शनिबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘रुसले आफ्नो आक्रामक अभियान रोकेर कूटनीतिक माध्यमबाट अघि बढ्नुपर्छ ।

युक्रेनमा रुसले कुनै प्रकारको सैन्य कारबाही गरेमा ठूलो भूल हुने छ र त्यसको गम्भीर परिणाम भोग्नुपर्ने छ ।’ रुस र युक्रेनबीच तनाव बढिरहेको बेला युक्रेनबाट जारी यो बयानलाई अन्तर्राष्ट्रिय मिडियाहरूले ‘अप्रत्यासित’ भनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *