स्वास्थ्य सेवा जनमैत्री बनाउन सरोकारवाला निकाय प्रतिबद्ध
प्यूठान जागरण डटकम
फागुन २५ । सुत्केरी महिलाई निशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले बताउनु भएको छ । बुधबार भएको स्वास्थ्य सेवाको प्रभावकारीता बिषयक साझा सभामा कक्षपतिले गएको श्रावण देखि यताको समयमा बिपन्न गरिब परिवारलाई १६ लाख जति स्वास्थ्य उपचारमा दिएको बताउनु भएको थियो ।
प्रमुख कक्षपतिले भन्नुभयो “हामीले जेष्ठ नागरिकलाई महिनाको १० दिन गाउँमै गएर सेवा दिने गरेका छौं साथै मुटु लगायत ठूला समस्या देखा परेका रोगको उपचारको लागी एक लाख पनी अधिल्लो आर्थिक वर्षमा २७ जना यस आर्थिक वर्षमा २२ जनालाई सिफारिस गरेका छौ” ६० वर्षमा माथीका सबै जेष्ठ नागरिकलाई आँखाको उपचारमा नाम दर्ता देखी आँखाको शल्यकृया, चस्मा सबै निशुल्क गरीदिएको बताउदै नेपाल भरी नै नमूना काम गरेको दाबी गर्नुभयो । प्यूठानका स्वास्थ्य संस्था बढी यस नगरपालिका क्षेत्रमा पर्ने भएकाले स्वास्थ्यलाई सस्तो, सर्वसुलभ, भरपर्दो, बिस्वसनिय, जनतामैत्री लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कक्षपतिले प्यूठानका एम्बुलेन्स भाडामा चलाउने प्रबृतिलाई तुरुन्त निरुत्साहित गर्नु पर्ने बताउनु भएको थियो । उहाँले निजि मेडिकल संग मिलेर बिरामीलाई सम्बन्धीत ठाँउ भन्दा अन्तै लैजाने एम्बुलेन्सको गतिबिधि रोक्नपर्ने बताउनु भएको थियो । जिल्लामा नैतिक शिक्षाको खाचो परेकाले यसको सुरुवात गरीदिन जिल्ला स्तरीय नागरिक समाज सञ्जाललाई कक्षपतिले आग्रह समेत गर्नुभएको थियो ।
सझा सभामा बोल्दै प्यूठान स्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन खडकाले जिल्लामा भएका एम्बुलेन्स सेवालाई सरकारले दिएको मापदण्डका आधारमा व्यवस्थापन गरीने बताउनु भएको छ । एक एम्बुलेन्समा ४ वटा ड्राइभर राख्ने “क” र “ख” बर्गका एम्बुलेन्स मात्र चलाउन पाइने लगाएतका सरकारको निर्देशन हामी तुरुन्त अब कार्यान्वयमा जादैछौ उहाँले भन्नुभयो । “ख” बर्ग सम्म सञ्चालन गर्न नसक्ने एम्बुलेन्सलाई अब सार्वजनिक यातायातको रुपमा लिन्छौ यदि सबै मापदण्ड पुरा भएमा मात्र एम्बुलेन्स चल्न पाउने व्यवस्था भएको खड्काले बताउनु भएको थियो ।
जिल्लामा नै इन्डोसकोपी, मुटुको इको, इसीजि, किडनीका बिरामीलाई डायलासीस गर्ने व्यवस्थाको तयारी भएको प्यूठान अस्पतालका प्रतिनिधि सूचना अधिकारी खिम प्रसाद पार्धेले बताउनु भएको छ । बाल रोग, मनोरोग, स्त्री रोग लगायतका बिभिन्न बिषेशज्ञ सहितको सेवा प्यूठान अस्पतालबाट प्रदान गरीएको पार्धेले बताउनु भयो । २४ सै घण्टा अप्रेशन गर्न सकिने व्यवस्था सहित अत्याधुनिक ल्याव सेवा दिने तयारी भएको पार्धेले जानकारी गराउनु भएको थियो । साझा सभामा सहभागीले उठाएका प्रश्नमा बोल्दै पार्धेले प्यूठान अस्पतालमा सुधार गर्नुपर्ने कुरा अबका दिनमा सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी महिला मानव अधिकारीकर्मी पार्वता आचार्यले अस्पताल जस्तो संबेदनशिल निकाय जनमैत्री हुन पर्ने बताउनु भएको थियो । उठेका समस्याहरु समाधारमा सम्बन्धीत निकाय गम्भिर भएर लागेमा सेवामा एकरुपता हुने बिश्वास व्यक्त गर्नुभएको थियो । स्वास्थ्य संग सम्बन्धित प्यूठान अस्पतालको सेवामा भएका समस्या, एम्बुलेन्स सेवामा भएका समस्या, आँखा उपचारमा भएका समस्या, स्वास्थ्य बीमा भएका समस्या लगायतका बिषयमा सहभागीहरुले प्रश्न उठाएका थिए ।
हरप्लेस प्यूठानका अधिकृत पम्फा पन्तले स्वास्थ्य, शिक्षा, बिपत, कृषि लगायतका जनसरोकारका महत्वपुर्ण बिषयमा जिल्लामा बहस, छलफल गदै भएका समस्या पहिचान गरी सुधार गदै लैजानु पर्ने कुरामा परियोजनाको उद्धेश्य रहेको बताउनु भएको थियो । स्वास्थ्य क्षेत्रमा आएका गुनासालाई सम्बोधन गर्न गरीएको स्वास्थ्य बिषयक साझा सभा आगामी दिनमा सुधार गर्न महत्वपूर्ण अबसरको रुपमा रहने बताउनु भएको छ ।
नागरिक समाज अगुवा सुमन सुबेदी, प्यूठान क्याम्पसका प्रमुख कल्पना खडका, दलित मानव अधिकारकर्मी शंसेर नेपाली, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका मन्त्री दामोदर शर्मा, एम्बुलेन्स चालक सुरेश नेपाली लगायतका व्यक्तिहरुले स्वास्थ्य संग सरोकार भएका बिषयमा प्रश्न राख्नु भएको थियो । प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रमको अध्यक्षता जिल्ला स्तरीय नागरिक समाज सञ्जालका अध्यक्ष नेत्रमणी आचार्यको रहेको थियो भने सभाको सहजीकरण पत्रकार महासघं प्यूठानका सदस्य लोकेन्द्र सुनारले गर्नुभएको थियो ।