गौमुखी गाउँपालिका, एक संक्षिप्त जानकारी ः
ज्ञामुराम न्यौपाने
गौमुखी गाउँपालिकाको स्थापना २०७३ साल फागुन २७ गते भएको थियो । गाउँपालिकाले स्थापना भएको पाँच वर्ष पुरा गरेर छैठौं बर्षमा प्रवेश गरेको छ । गाँउपालिका स्थापना दिवसको सन्दर्भमा पालिका बासी सबै महानुभावहरुमा हार्दिक सुभकामना व्यक्त गदै गाउँपालिकाको बारेमा संक्षिप्त चिनारी प्रस्तुत गर्ने प्रयास गरिएको छ।
बिषय प्रवेश ः
परिचयः प्यूठानमा रहेका साविक अर्खा, रजबारा, पुजा, खुङ , नारिकोट गा.बि.स. र लिवाङको वार्ड नं १ देखी ६ मिलाएर गौमुखी गाउँपालिका स्थापना भएको थियो । यस गाउँपालिकाको नामाकरण प्यूठानको दोश्रो पर्यटकिय स्थल तथा झिमरुक नदीको उद्गम स्थान गौमुखी (गाईकोमुख आकृतिबाट पानि निस्कने मुहान) को नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकामा आबद्ध अर्खा, राजाबारा, र पुजा गाउँ २०३२ साल माघ भन्दा अघि बाग्लुङ जिल्लामा थियो ।
गौमुखी गाउँपालिका १३९.०४ वर्ग किलोमिटर (५३.६८वर्ग माईल) क्षेत्रफलमा फैलिएको छ । सात वटा वडा, पन्ध्र जना कार्यपालिका सदस्य र ३७ गाँउसभासद् रहने गरी राजनैतिक बिभाजन गरिएको छ । हाल पाँच हजार एक सय घरधुरी रहेको यहाँको र २०७८ को प्रारम्भिक जनगणना अनुसार जनसख्या २६ हजार रहेको छ । समुद्र सतह देखी न्यूनतम १,०६१ मिटर उचाइको कोइरा फाँट र अधिकतम ३,२७८ मिटर उचाइको ठुलीनाङ्गी लेक यस गाउँपालिकाको सर्वोच्च स्थानमा रहको छ । पानीको लागि धनी मानिने यस पालिकाको अधिकांश भू–भाग माहाभारत पहाडी श्रृङ्खलामा अवस्थीत रहेको छ । चार रङ्गका लालीगुराँस फुल्ने यहाँका अग्ला पहाडहरूमा हिउँद महिनामा हिउँले ढाकेर पहाडको रङ्गले नै सेताम्य बनाइ दिन्छ । गाउँपालिकामा जातिगत आबादी हेर्दा क्रमसः जनजाती, दलित, क्षेत्री, सन्यासी, ठकुरी र बाहुनहरूको बसोबास रहेको देखिन्छ ।
मुख्य प्रयटकिय स्थालहरूः
गौमुखी, झाक्रीढुङ्गा, बाइसमुल झरना, आठ जना क्रान्तिकारीहरुले सहादत प्राप्त गरेको बाईचौर, ठूली नाङ्गी, सानी नाङ्गी, दुईबहिनी, तामाखानी, सती बोइको मन्दिर पुजा, दहबासे, रानी ताल,कैलाश दह, गोद्रे चौर, तिन पालिकाको संगम दिहाल्नाचौर, फापर छर्ने चौर,तामाङ गुम्बा, (अर्खा) पोखरा थाम चौर (रजबारा) रुपाचौर, सुपा देउराली (खुङ) आदी रहेका छन ।
रजबारा, खरा, अर्खाका घना जनजाति घर र बस्तीहरु रहेका छन । बाग्लिबाङ, जारगाउँ, ढाँडखानी, अर्खा डाँडागाँउका कठिनाई संग जुधिरहेका दलित बस्तीहरू ज्यादै मौलिक लाग्दछन् । खुङ्गको ठकुरी संस्कृति, थनिकाको तामाङ संस्कृति, बग्लिबाङको दलित संस्कृति, नारीकोटको पुरीहरुका घर संस्कृति बिशेष आर्कषक घुम्न आउनेहरुका लागी लाग्दछ । रजाबाराका खेलाडीको खेल प्रतिको प्रेम, लिबाङका अथक परिश्रमी किसान, नारीकोटको फाँटको सुन्दरता यहाँको वैभव जस्तो लाग्दछ ।
अर्थतन्त्र, आय स्रोतः
यहाँको अर्थतन्त्र बढी कृषिमा आधारित रहेको छ । “लगानी भन्दा उठानी कम” ऋणात्मक उत्पादन रहेको कृषि पेशामा विभिन्न अन्नखेती, पशुपालन, फलफूल खेतीका अलवा ज्याला मजदुरी, वैदेशिक रोजगार, सरकारी जागीर, विकास बजेट आदी रहेका छन । सारांशमा यहाँको आयश्रोत कमजोर र गरीबी उन्मुख छ ।
मेला तथा चाडपर्वहरुः
गौमुखी मेला, भुमे पुजा, कुल पुजा÷देउलीहरु, अर्खाको लाटा नाँच, दसैँको मेला, तीज, दसैँ, तिहार, देउसी भैलो, देउराली पुजा, फागु र बुद्ध पूर्णिमा, जेठासी पुन्यु ,जेठ २० को मेला, लोसार आदि रहेका छन ।
शिक्षाः
कक्षा १२ सम्म पढाई हुने यस गाउँपालिकाका ४५ वटा विद्यालयमा ९ हजार बढी बिद्यार्थी अध्यनरत रहेका छन् । कक्षा १२ सम्म जाँदा बिद्यार्थी टिकाउ दर १७.२ प्रतिसतको चिन्ताजनक आँकडा रहेको छ । मौजूदा माध्यमिक विद्यालयहरुमा कक्षा ११ र १२ संचालन गर्नुको साथै स्नातक तहको क्याम्पसको आबस्यकता बढ्दै गएको देखिन्छ ।
प्राकृतिक प्रकोपः
हेर्दा सुन्दर लोभ लाग्दा डाँडाकाडा, पखेरा, छहरा, भुबनोट प्राकृतिक छटाले भरीपूर्ण गौमुखी गाउँपालिका उच्च पहाडी भूभागको कारण प्राकृतिक प्रकोपको रूपमा यहाँ बाढी, पहिरो, चट्याङ, हावाहुरी असिना, हिउँ आदि रहेका छन । यसबाट जिउज्यान र खेतीपातीमा बर्सेनि क्षति व्यहोर्नु पर्दछ ।
मुख्य समस्याहरुः
विकट तथा कठिन बस्तीहरू, आय स्रोतको अभाब, ग्रामीण गरिबी, बेरोजगारी, परम्परागत कृषि प्रणाली, आकासे खेती, ऋणात्मक कृषि उत्पादन, सिंचाईको अभाब, कमजोर शैक्षिक गुणस्तर, अशिक्षा, पढाई पुरा नगरी बिचमै छोड्ने समस्या, अस्पताल, क्यम्पसको अभाव, कच्ची असुरक्षित सडकहरु, गुणस्तरहिन निर्माण, सरकारी बजेटमा अपारदर्शिता ,भ्रष्टाचार, राजनैतिक पूर्वाग्रह, रक्सी जुवाको कुलत, बसाई सराइ आदी रहेका छन ।
संभावनाः
कृषी क्षेत्रको आधुनिककरण र बजारीकरण, कृषि क्षेत्रमा सिंचाईको ब्यबस्था, विद्यालयहरुको सुधार, क्याम्पस स्थापना, प्युठान–बाग्लुङ सडकको निर्माण, सडकहरुको स्तर वृद्धि र विस्तार, पालिका स्तरिय अस्पताल निर्माण, गौमुखी नौबहिनि संरक्षित बनको सही कार्यान्वयन, मौजूदा पर्यटन क्षेत्रको सौन्दर्यकरण त्यहाँ पुग्ने पहुँच मार्गको निर्माण प्रचार प्रसार, सहकारी संस्थाहरूको एकिकृत सञ्चालन, सामुदायिक वनको सही सञ्चालन र नियमन, गाउँपालिका केन्द्रको समुचित विकास, बजारहरूको आधुनिकीकरण, झिमरुक नदी नियन्त्रण, स्थानिय उत्पादनमा जोड, सुशासन, पारदर्शिता, मितव्ययिता रहेका छन ।
समाजसेवाका ः आर्दश नागरिक
कम्युनिष्ट नेता, प्यूठानका एक धरोहर खगुलाल गुरुङ ः उहाँको जन्म रजबाराको खरा डिहिमा १९७५ भाद्र २५ गते भयको थियो । नेपालको वामपन्थी राजनीतिमा सात दशक लामो सकृय राजनीति गरेका खगुलाल गुरुङको राष्ट्रिय स्तरमा छुट्टै परिचय स्थापित छ । उहाँले जहानियाँ राणा शासन, पञ्चायती निरंकुशता, गणतन्त्र प्राप्तिको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । उहाँ डेड बर्ष जेल समेत गर्नुभएको थियो । उहाँको १ सय ४ बर्षको उमेरमा २०७८ असौज ३ गते निधन भएको थियो ।
धिर्ज बहादुर अर्गेजा घर्ती मगरः १९३८ सालमा रजबाराको ओख्रेनीमा जन्मिनु भएको थियो । उहाँ भारतीय फौजमा सुबेदार भएर रिटायर भए पछी आफ्नो गाउँ फर्किनु भएको थियो । उहाँले झिमरुक खोलामै पहिलो पटक सिरुङ खोलामा वि सं १९८५ मा ब्यक्तिगत खर्चमा साङले पुल बनाएर गौमुखी गाउँपालिका बासीलाई कहिल्यै नभुल्ने गुन लगाउनु भएको थियो । जसलाइ “छम” भनिन्थ्यो । गोरखपुरबाट फलामको पाता र रोल्पाको जेलबाङबाट कच्चा फलाम बोकाएर महिनौ आरन चलाएर साङले पुल र सिँढी घर्तिले बनाउनु भएको थियो । उहाँले फल्लेबासमा गोलकार पोखरी निर्माण गरेर आफ्नो केही जग्गा र ढाडखानीमा थप जग्गा किनेर गौचरण घोषणा गर्नुभएको थियो । उहाँले ढाडबाट पोखरा जाने भिरको बाटो पनि आफ्नो खर्चमा खनाएको कुरा पनी पालिका बासीले कहिल्यै भुल्ने छैनन् उहाँका सन्तान भने थिएनन् । समाजसेवी धिर्ज बहादुर अर्गेजा घर्ति मगरको मृत्यू १९८८ मा भएको थियो ।
टेक बहादुर सुनारः २ हजार साल पुसमा लिवाङको बाँझाखर्कमा सुनारको जन्म भएको थियो । उहाँको भारतीय फौजमा भर्ती भएको चार बर्ष नहुँदै दुर्घटनामा परी दाहिने खुट्टा भाँच्चिएर लुलो भयो । पल्टनले पेन्सन दिएन, घर पठाइ दियो । त्यसपछी उहाँ गाउँ फर्किएर लूलो खुट्टा घसार्दै बिद्यार्थी जम्मा गरेर पढाउन सुरु गर्नुएको थियो । उहाँको पुजाको गोठाटी, खलाचौर, लैसरा, जारगाँउ र अन्तमा लिवाङको घोप्टेमा बिद्यार्थीहरुलाई पढाउनु भएको थियो । उहाँले सुरू गरेका प्रारंभिक विद्यालयहरु आजकाल गतिमान रुपमा संचालित अर्थात कृयाशिल छन । विद्यार्थीको घरघर गएर मागेर खाने र विद्यार्थीले उठाएर दिएको दस बीस रुपियाँ उहाँले लिउने गर्नुहुन्थ्यो । कहिल्यै सरकारी तलब खान मान्नु भएन । यसरी डुँडो खुट्टा लतार्दै घिर्सदै १९ बर्ष भन्दा बढि समय सिक्षा क्षेत्रमा योगदान दिनु भएको थियो । उहाँको जिबन दुःख र आदर्शले भरिएको थियो । घोप्टेको बिद्यालयमा पढाई रहेको समयमा आदर्श शिक्षक टेक बहादुरको २०५१ साल बैशाखमा दुःखद मृत्यू भयो ।
गाउँपालिकालाई सम्झदाः
२०७३ सालमा गाउँपालिका स्थापना भएपछि स्थानीय विकास निर्माणमा केही सहजता उत्पन्न भयको छ । २०७४ असारमा भएको स्थानिय निर्बाचन पछि गाउँपालिका सञ्चालनको सिकाइ अनुभव संगाल्दै बाटो घाटो, स्वास्थ्य सेवा, खरको छाना हटाउन कर्कट पाता वितरण, वार्ड भवनहरूको निर्माण र केही विद्यालय भवनहरू समेत निर्माण भएका छन् । गएको पाँच वर्षमा गाउँपालिकालाइ दुई अरब भन्दा बढी बजेट प्राप्त भयको छ ।
अन्त्यमाः यहाँ बिद्यमान कठिन जिबनयापन, ग्रामिण गरीबी, बेरोजगारी, पछ्यौटेपन, अशिक्षा, अन्धविश्वास, प्रतिकूल भूगोल हाम्रा साझा समस्या हुन । गौमुखी गाउँपालिकाको विकाश र उन्नयनमा हामी सबैको साझा प्रयास रहनु आबस्यक छ । यहाँ शासन गर्नेहरुले विकासको सवालमा सबैलाई सहभागी बनाउदै सुशासन तथा मितव्ययीतालाइ आफ्नो अभिन्न अङ्ग बनाएर लैजानु जरुरी छ ।