खाद्य बस्तुमा उपभोक्ता सचेत हुन पर्नेमा जोड

लोकेन्द्र सुनार, प्यूठान जागरण
चैत्र, १ । पुरानै निति व्यवस्थाले गर्दा खाद्यबस्तु गुणस्तरमा केही समस्या आएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताउनु भएको छ । मंगलबार बिश्व उपभोक्ता दिबशको अबसरमा आयोजीत उत्पादित बस्तुको गुणस्तर तथा लेबलिङ्ग सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गदै भुषालले खाद्यबस्तु जस्तो संबेदनशिल बिषय भएको हुँदा प्रशासनिक क्षेत्रबाट सुधार गर्न आफुले सक्दो पहल गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग बिकास समितिका कार्यालय प्रमुख खेमबहादुर थापाले उपभोक्त आफै पनि सचेत हुनु पर्ने बताउदै यदि कुनै खाद्यबस्तुमा समस्या भए सिधै कानूनी रुपमा अधिकार हनन् भएको भनि सम्बन्धित निकाय समक्ष उजुरी दिन सकिने बताउनु भएको थियो । बिभिन्न बिषयमा कानूनले बिषेध गरेका कार्य गरेमा खाद्यबस्तुको ऐन अनुसार ५ बर्ष देखी ५० हजार सम्म जरिवाना हुने बताउनु भएको थियो ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाकेका खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा क्षेष्ठले उत्पादित खाद्यबस्तुका लेबलिङ्ग तथा प्याकेजीङ्ग सम्बन्धी व्यवस्थालाई जिल्लामा राम्रो संग लागु गराउन सबै निकाय लाग्नु पर्ने बताउनु भएको थियो । उत्पादित खाद्यबस्तुको उत्पादन मिति, म्याद जाने समय, गुणस्तर लगायतका कुरामा ध्यान दिन उद्योगीहरुलाई सचेत गराउनु भएको थियो ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाकेका प्राबिधिक सहायक गणेश रोकाले उत्पादित खाद्यबस्तुको गुणस्तर परीक्षण बारे प्रयोगात्मक बिधि प्रस्तुत गर्नुभएको थियो । प्यूठानका उद्योगी, व्यवसायी, सघं संस्थाका प्रतिनिधि, पत्रकार, उपभोक्ता लगायतको उपस्थितिमा गोष्ठि जुम्री आयुष्मा होटलमा गरीएको थियो ।