निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व गर्न माग
प्यूठान जागरण डटकम
बैशाख ४, काठमाडौ । आइतबार दलित समुदायको समानुपातिक प्रतिनिधित्व गर्न निर्वाचन आयोग समक्ष ध्यानाकर्षणपत्र दलित यूवाहरुले बुझाएका छन । राष्ट्रिय दलित मुक्ति जागरण अभियान मार्फत् दलित समुदायका युवाहरूले राजनीतिक दलहरूले उठाउने कुल उम्मेदवार मध्ये जनसंख्याको आधारमा १३ प्रतिशत उम्मेदवार दलित समुदायबाट बनाउने व्यवस्था गर्न भन्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका हुन ।
स्थानीय सरकारमा शताब्दीऔँ सम्म विभेद र उत्पीडनबाट प्रताडित रहेको दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरुले प्राथमिकताका साथ उम्मेदवार बनाउनुपर्ने माग ध्यानाकर्षणपत्रमा गरीएको राष्ट्रिय दलित मुक्ति जागरण अभियानका संयोजक खगेन्द्र सुनारले बताउनु भएको छ ।
बिज्ञप्तीमा भनिएको छ ‘सबै राजनीतिक दलले संविधानको मर्म अनुरुप समानुपातिक र समावेशी सिद्धान्तका आधारमा कम्तिमा १३ प्रतिशत स्थानीय तहका कार्यकारी पदहरु प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा मा टिकट दिने व्यवस्था गरियोस् ।
सुनारले आइतबार नै आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेर ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको जानकारी दिनुभयो । राज्यले नियोजित रुपमा राजनीतिकरुपमा बहिस्करणमा पारिएको, आर्थिक रुपमा वञ्चितीकरणमा पारिएको र सामाजिक सांस्कृतिक रुपमा छुवाछुत भेदभाव समेत गरिरहेको सुनारले बताउनु भएको छ ।
त्यस्तै, विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनमा शहिद भएका बेपत्ता, अपांग तथा घाइते परिवारका सदस्यलाई स्थानीय तहमा उम्मेदवार बनाउन पहिलो प्राथमिकता दिनुपर्ने, निवाचित जनप्रतिनिधिहरुले जातिय विभेद गरेमा स्वतः पद खारेज हुने कानुन बनाउनुपर्ने र जनसंख्याको हिस्सा अनुसार प्राथमिकतामा राखेर उम्मेदवार दिने व्यवस्था गर्नुपर्ने माग पनि गरेको छ ।
स्थानीय तहमा हरेक वडामा एक जना दलित महिला आरक्षणतर्फ निर्वाचित हुने कानुनी व्यवस्था छ । तर, कार्यकारी पदमा भने दलहरुले दलित समुदायको भएकै कारण उम्मेदवार नबनाउने गरेको दलित समुदायका व्यक्तिहरुको गुनासो रहेको छ ।