झाक्रीस्थानको बिकासमा सरकारी र निजि लगानी जुट्दै

लोकेन्द्र सुनार÷प्यूठान
बैशाख, २२ । प्यूठानको मल्लरानी गाउँपालिका भित्र रहेको प्रसिद्ध धार्मिक स्थल झाक्रीस्थानमा सरकारी तथा निजि क्षेत्रबाट लगानी गरी भौतिक पुर्वाधार, रेलिङ्ग तथा सिढी निमार्ण भएको छ । संरक्षणको अभावमा रहेको पर्यटकिय संभावना रहेको झाक्रीस्थानमा अहिले संरचना निमार्णमा संघ संस्था सरकारी तथा निजि स्तरमा चासो बढन थालेको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुर बाकेबाट १६ लाख ८१ हजार झाक्रीस्थान संरक्षण गर्न बजेट आएको थियो । उक्त बजेट ललित निमार्ण सेवाले झाक्रीस्थानमा रेलिङ्ग सिढी तथा सेल्फी डाँडा निमार्ण गरी सम्पन्न गरेको छ ।
मल्लरानी गाउँपालिकाको आर्थिक बर्ष ७७।०७८ को पर्यटन पूर्वाधार तर्फको बजेटबाट ५ लाख झाक्रीस्थान दहमा जानको लागी सिढी निमार्ण गरिएको मल्लरानी गाउँपालिका प्यूठानले जनाएको छ । मल्लरानी गाउँपालिका भित्र पर्ने प्रख्यात धार्मिक स्थल झाक्रीस्थान गाउँपालिकाको पर्यटन संभावनाको महत्वपूर्ण स्थान भएकाले यसको बिकासमा निरन्तर जोड दिने मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरले बताउनु भएको छ ।
मानिस मन्दिर दर्शन गर्न आउदा खाना खान, बस्न समस्या भएकाले स्वर्गीय श्रीमती तथा बुवा आमाको संम्झनामा आफुले निजि करिब ८ लाख लगानी गरी ३ वटा प्रतिक्षालय बस्ने घर निमार्ण गरीदिएको समाजसेबी पूर्व खंलगा गाबिसका गाबिस अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ केपीले बताउनु भएको छ । सातभाई कुडाझाक्री रहेको हुँदा धेरै टाढाबाट आफुले चिताएको पुरा हुने बिश्वास गरी मन्दिर दर्शन गर्न आउने स्थानीयबासी दुर्ग बहादुर बिकले बताउनु भएको छ ।
कुडाझाक्री अर्थात झाक्रीस्थानका देवताको दर्शन गरी पुँजा आजा गर्नाले मनका इच्छा पुरा हुने जनबिश्वासका साथ प्यूठान, अर्घाखाची, गुल्मी, रोल्पा, दाङ्ग, सल्यान, बाग्लुङ्ग लगायतका जिल्लाबाट झाक्रीस्थान आउने गर्दछन । त्यहाका देवताले कान कम सुन्ने भएकाले मागेका कुरा ठूलो स्वरमा बोल्नुपर्ने जनबिश्वास छ । अहिले मन्दिर दर्शनका लागी मानिसको भिडभाड हुने भएकाले निजि लगानीबाट पूर्वाधार निमार्ण तथा अन्य ब्यवस्थापनमा सहयोग गर्न स्थानीयहरु सकारात्मक भएको देखिएको छ ।