२०७९, २७ जेष्ठ शुक्रबार ११:१७

जिसस बागलुङको प्रमुखमा राजमोका थापा गठबन्धनको प्यानल निर्वाचित

रासस, प्यूठान जागरण डटकम
२७ जेठ । जिसस बागलुङको प्रमुखमा राष्ट्रिय जनमोर्चाका अमर थापासहित गठबन्धनको प्यानल सर्वसम्मत निर्वाचित भएको छ । जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा २६ गते भएको निर्वाचन कार्यातालिका अनुसार अमर थापा चयन भएका हुन ।

थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उम्मेदवार सर्वसम्मत चयन भएका हुन । जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार सत्ता गठबन्धनका उम्मेदवारबाहेक कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख र उपप्रमुखसहित नौ जना सदस्य सर्वसम्मत चयन भएको सहायक निर्वाचन अधिकृत गङ्गाधर सापकोटाले बताए ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएका थापा र नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका शर्मासहित जिल्ला समन्वय समितिमा चार दलको सहभागिता रहेको थियो । सदस्यमा महिला सदस्य नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी जशोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएकी धनकुमारी खत्री सर्वसम्मत चयन भएका हुन ।

अल्पसङ्ख्यक दलित सदस्यतर्फ कांग्रेसका उम्मेदवार कौशीला विक निर्वाचित हुँदा खुला सदस्यतर्फ माओवादी केन्द्रका तर्फबाट हर्कबहादुर पाण्डे, कांग्रेसका तर्फबाट टेकबहादुर अर्गेजा र पदमबहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका हुन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनका प्रक्रिया पूरा गरेर घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *