बिद्यालय र यूवालाई आरोग्य सेवामा जोड्न आबस्यक

लोकेन्द्र सुनार, प्यूठान जागरण
असार १४ । प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले स्वस्थकर जीवनशैली सबैलाई आबस्यक रहेकाले दैनिक योग, ध्यान, प्रणायम गर्नुपर्ने बताउनु भएको छ । मंगलबार जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा भएको कार्यक्रम प्रमुख जिसीले जिल्लाका नौ वटा स्थानीय तहमै योगा, ध्यान, प्रणायामको जागरण फैलाउन प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सबै बिद्यार्थी, शिक्षक, यूवालाई कार्यक्रममा जोड्नु पर्ने बताउनु भएको थियो । मानिसले दैनिक खानपान दिनचर्यामा निकै ध्यान दिन आबस्यक रहेको कुरा उल्लेख गर्नुभएको थियो । आयुर्वेदको लागी चाहिने जडिबुटीमा प्यूठान निकै संभावना भएको जिल्लामा पर्ने प्रजिअ नेपालले बताउदै जडिबुटी उत्पादन गरी व्यवस्थापन गर्नुपर्ने बताउनु भएको थियो ।
सबै प्रकारको रोगबाट मुक्त हुन निरन्तर योगा गर्न आबस्यक रहेको योगकर्मी तथा सहभागी बुद्ध बहादुर जिसीले बताउनु भएको थियो । सनातन खालका जिवनशैलीबाट मानिस बिलासी जिवनशैलीमा निर्भर रहन गएको बताउदै जिसीले नागरिक आरोग्य सेवालाई सबैठाउँ सम्म बिस्तार गर्न सुझाव दिनुभएको थियो ।
जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र बिकास समितिका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठ लगायतले मन्तव्य राख्दै मानिस खुसी, स्वस्थ, समृद्धिमा पनि नागरिक आरोग्य सेवा महत्वपूर्ण हुने भन्दै गाउँ गाउँ सम्म यसको जागरण फैलाउन लाग्नुपर्ने बताएका थिए ।
प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख शिसिर पोख्रेलको अध्यक्षता, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको बिषेश आतिथ्यता संगै अगाडी बढेको कार्यक्रमको स्वागत मन्तव्य, डाक्टर अच्युत रिजालको रहेको थियो भने कार्यक्रम संचालन कबिराज निरिक्षक टुक बहादुर रोकाको रहेको थियो ।