खोलामा बगीरहेको बालक बचाउनेलाई, कक्षा १२ सम्मको शिक्षा निशुल्क पढाउने
लोकेन्द्र सुनार, प्यूठान जागरण
असार, २८ । गौमुखी माध्यामिक बिद्यालयले नदिमा बगीरहेको बालकलाई उद्धार गरी बचाउने कक्षा १० मा अध्ययनरत छात्र चन्द्र सुनार र कक्षा ८ मा अध्ययनरत सुशिल सुनारलाई कक्षा १२ सम्मको शिक्षा निुशल्क गर्ने भएको छ ।
ज्यानको प्रवाह नगरी गौमुखी गाउँपालिकाका बालक शिसिर केसीलाई यी दुइ दाजुभाईले करिब ६ सय मिटर टाढाको नदिबाट बग्दै गरेको बेला नदिमा पुगी बचाउन सफल भएका थिए । बालकलाई बचाउन उनीहरुले गरेको कामको प्रशंसा गदै यतिबेला गाउँपालिका तथा अन्य व्यक्तिहरुले सम्मान तथा पुरस्कार दिएका छन ।
प्यूठान उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपानेको संयोजकत्वमा उनीहरुलाई आउने आर्थिकको व्यवस्थापन गर्न समिति निर्माण गरिएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले बताउनु भयो । हाल सम्म उनीहरुले गरेको कामलाई प्रसंसा गदै हौसला स्वरुप ८८ हजार रकम जम्मा भएको संयोजक न्यौपानेले बताउनु भएको छ ।
बर्खायाममा आएको खोलामा मृत्यूसंग लडि रहेका बालक शिसिर केसीलाई उनीहरुले पौडेर उद्धार गरी प्राथमिक उपचार समेत गरी उनको ज्यान बचाएका थिए । उनीहरुलाई सम्मान स्वरुप पोखरा, काठमान्डौ घुम्ने टुर प्याकेज विभिन्न व्यक्तिहरुले घोषणा गरिसकेको संयोजक न्यौपानेले प्यूठान जागरण डटकमलाई जानकारी दिनुभएको छ ।