दलितलाई निषेध गरेका कोटघरबारे अध्यक्षलाई ज्ञापन-पत्र
लोकेन्द्र सुनार / प्यूठान जागरण डटकम
असोज १४ । दलितलाई निषेध गरिएका मन्दिर तथा कोटघरबारे दलित संजाल झिमरुकले बिहिबार गाउँपालिका अध्यक्ष समक्ष बिभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ । २०६८ को जातिय भेदभावव तथा छुवाछुत कसुर सजाए अनुसार कडा कानूनी व्यवस्था भएता पनि साँस्कृतिक रुपमा दलित माथी भएका अमानवीय व्यवहारलाई गाउँपालिकाले गम्भिर रुपमा लिनुपर्ने संजालले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापन-पत्रमा जनताका जनप्रतिनिधि समेत जातिय छुवाछुतको समस्यामा पर्नु निकै लज्जासपद भएको जनाएको छ । झिमरुक गाउँपालिका भित्र भएको तुषाराकोट, ओखरकोट, इस्नाथान, बाङ्गेकोट जस्ता मन्दिरमा दलितलाई माथील्लो जातिहरुले प्रवेश गर्न नदिएको आरोप लगाएका छन ।
बिगतमा भएका घटना गाउँपालिका प्रशासनले चासो नराखेको, गुनासो गदै उजुरी आए मेलमिलाप गर्न प्रोत्साहन गरेको ज्ञापन–पत्रमा भनिएको छ । नेपालको संबिधान अनुसार नेपाल धर्म निरपेक्ष राष्ट्र भएता पनि बिभिन्न जातजातिको सम्मान हुनपर्नेमा दलित समुदायको सार्वजनिक स्थानमै अपमान हुने गरेको ज्ञापन-पत्रमा उल्लेख गरिएको छ ।
झिमरुक गाउँपालिकाका बिनोद बिश्वकर्मा सहितको टोलीले झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतराको कार्यकक्षमा गई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन–पत्रमा हस्ताक्षर गदै झिमरुक गाउँपालिकाका दलित अधिकारकर्मीहरु उदय बहादुर बिश्वकर्मा, अइन्द्र बिक, खिम बहादुर बिक लगायतका व्यक्तिहरुले ज्ञापन-पत्रमा ऐक्यबद्धता जनाएका छन ।
यस्तै झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतराले आफुले २०५४, ५५ साल तिर गडिकोट ओखरकोटमा दलित निषेध भएको कुरा उठाएर केही सुधार भएको बताउनु भएको छ । महताराले तुषारा, बाङेकोट लगायतका दशै मेला लाग्ने सबै कोटघरमा वडाअध्यक्ष मार्फत सामाजिक बिभेद नगर्न निर्देशन दिने बताउनु भएको छ । अध्यक्ष महतराले लगतै पालिकाले कार्यपालिका बैठकबाट निर्णय गरी जातिय छुवाछुत तथा भेदभाव सम्बन्धी बिषयमा अन्तरकृया नै गर्ने योजना बनाएको बताउनु भएको छ ।