५५ प्रतिशतले गरे प्यूठानमा मतदान, देशभर ६१ प्रतिशत

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
मंसिर ५ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्यूठानबाट ८८ हजार ४७ मत खसेको छ । जसमा पुरुष ३७ हजार ९ सय ६१, महिला ५० हजार ८६ जनाले मतदान गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । जिल्लाको समग्र मत हेर्दा ५५.११ प्रतिशत अर्थात ८८ हजार ४७ जना सहभागी भएका छन ।
जिल्लामा १ लाख ५९ हजार, ७ सय ६० मतदाता नामावलिमा भएकोमा महिला ८१ हजार, ९ सय ९०, पुरुष ७७ हजार, ७ सय, ६९, अन्य १ जना रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानको तथ्याङ्कमा रहेको छ । प्यूठानमा १ सय ५६ मतदानस्थल, २ सय २३ मतदान केन्द्र थिए । जिल्ला कारागारबाट कैदीबन्दी २८ जना, १ जना कर्मचारी, १ जना सुरक्षाकर्मी गरी जम्मा ३० जनाले मतदान गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भयो ।
महेन्द्र माबि खंलगामा क र ख दुबै मतदानस्थलहरु महिलाहरुको नेतृत्वमा निर्वाचन भएको थियो । मतदान अधिकृत देखी सुरक्षाकर्मी, म्यादी प्रहरी सम्म महिलाहरु खटिएको मतदान अधिकृत कल्पना खड्काले बताउनु भयो । स्थानीय तहको निर्वाचन भन्दा जनतामा उत्साह कम भएको पाइएको छ । जिल्लामा छिटफुट केही समस्या भएपनी त्यति ठूलो समस्या निर्वाचनको बेला नभएको हुँदा शान्तिपूर्ण भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललको भनाई रहेको छ ।
यसैबिच आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताउनु भएको छ । सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उहाँले बताउनु भयो ।
आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको थियो ।
सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उहाँले बताउनु भएको छ ।
सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक÷एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताउनु भयो ।