भोजमा दलित युवालाई गैरदलितबाट कुटपिट

प्यूठान जागरण डटकम
महोत्तरीको गौशाला नगरपालिका– १ रामनगरको बानटोलनिवासी १६ वर्षीय अविनाश पासमान दलित भएकै कारण कुटिएका छन् । आफ्नै वडामा सुरतन यादवको आमाको श्राद्धमा यादव र महतोको लाइनमा बसेर भोज खाएको निहुँमा पासमान कुटिएका हुन् ।
स्थानीय ४० वर्षीय रामविनेक यादवले कुटपिट गरेका भन्दै पीडित बालकले प्रहरीमा निवेदन दिएका छन् । टेन्टको काम गर्न मजदुरको रूपमा सुरतन यादवको घरमा खटिएका अविनासलाई भोक लागेपछि अन्य जातिको लाइनमा बसेर खाना खाएको झोँकमा गत वैशाख २६ गते रामविनेक यादवले कुटपिट गरेका हुन् ।
अविनाशले वैशाख २७ गते नै इलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले २९ गते रामविनेक यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले घटनाको अनुसन्धान हुने बताए । उनले तत्काल निवेदनको आधारमा आरोपीलाई पक्राउ गरिए पनि जाहेरीसमेत आउनुपर्ने बताए ।
राम विनेकले करिब एक वर्ष पहिले अविनाशकी आमालाई समेत चौतारामा बसिरहेको अवस्थामा कुटपिट गरेका थिए । त्यसबेला इलाका प्रहरी कार्यालय गौशालामा छलफल हुँदा उनलाई उपचार खर्च पाँच हजार दिएर आरोपीले उन्मुक्ति पाएका थिए ।