कर समस्याका विषयमा अर्थ मन्त्रालयलाई गैससको ध्यानाकर्षण पत्र
लोकेन्द्र सुनार । प्यूठान जागरण डटकम
जेठ १२ । गैर सरकारी संस्था महासंघ प्यूठानले शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्रालयलाई कर भ्याटका समस्या बिषयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
सरकारी निजि र नागरिक समाजको भूमिका महत्वपुर्ण हुने भन्दै नाफ नकमाउने सामाजिक संस्थाहरु आयकर ऐन २०५८ को दफा ३ घ ले यस्ता संस्थाहरुलाई करछुट दिने व्यवस्थाका रुपमा परिभाषित गरेको र २०५९ को नियम २७ बमोजिम करछुट प्रमाण पत्र समेत दिदै आएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष बिजय कुमार श्रेष्ठद्धारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा नेपाल सरकारले आन्तरिक राजश्व कार्यालयलाई पत्र पठाई सामाजिक संस्थाहरुले प्राप्त गरेको बैदेशिक सहयोग अनुदानमा भ्याट लगाउने, आर्थिक बर्षको अन्तिम मौज्दातलाई नाफा भनी आयकर समेत लिने गरी घुमाउरो रुपमा प्रतिबन्ध लगाउन खोजेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघसंस्थाहरुको आयकर, मुल्य अभिबृद्धिकर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज बुझाउन नपर्ने वा मिनाहा हुने साथै मुनाफा रहित सामाजिक संघ संस्थाहरु भ्याटमा दर्ता हुँदा हुनुपर्ने व्यवस्था खारेज गरि समस्याको समाधान गर्न जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्रालय सिंह दरबार काठमान्डौलाइ ध्यानाकर्षण पत्र बुझाएको गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष बिजय कुमार श्रेष्ठले बताउनु भयो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले नागरिक समाजबाट आएका सकारात्मक कुराहरुलाई मन्त्रालयले सम्बोधन गर्ने बिश्वास रहेको बताउनु भएको थियो । गैर सरकारी संस्था महासंघ प्यूठानबाट प्राप्त भएको ध्यानाकर्षण पत्र मन्त्रालयमा पठाईसकेको बताउनु भयो ।