२०८०, २१ जेष्ठ आईतवार १९:१०

भ्रष्ट नेतृत्व कि सामाजिक सम्बन्ध ?

इमानसिंह भारती
अहिले मुलुकमा भ्रष्टाचारको निक्कै चर्चा छ । गाउँघर, शहर, पाटी, पौवा, भोजभतेर, विवाह, ब्रतबन्ध, बाटोघाटो, गाडी घोडा, सञ्चारमाध्यम, जहाँ जताततै भ्रष्टाचार बारे छलफल चलिरहेको सुन्न र हेर्न सकिन्छ । भुटानी शरणार्थीलाई नक्कली कागज पत्र बनाई अमेरिका पठाउने गिरोहका विरुद्ध नेपालमा सत्ता पक्ष र विपक्ष छुट्याउन गाह्रो परेको छ । सबै सडकमै देखिएका छन् । यसको जड के हो त ? यस बारे यहाँ चर्चा गरिनेछ ।

राणाकालिन नेपालमा पनि भ्रष्टाचार थियो तर त्यो नगन्य थियो । पञ्चायतकालमा पनि दरवारका आसेपासेहरु सम्म भ्रष्टाचार थियो तर जनतासम्म थिएन । बहुदल आएपछि क्रमशः नेतृत्व परिवर्तन भयो । पञ्चायतमा हालिमुवाली गरेकाहरु ठूला दल प्रवेश गरेर यिनै अगाडी बढ्दै गए । गणतन्त्र पछि त झनै भ्रष्टाचारको गिरोह दलहरु भन्दा अगाडी आई पुग्यो । यसको कारण खोज्दै जाने हो भने त्यो तपाई हामि नै हौ भ्रष्ट बनाउने कार्यमा होस्टेमा हैसे गर्ने । प्रजातन्त्र प्राप्त पछि विकासले निक्कै तिव्रता लिएको छ । म आफै पाल्पा कलेज पढ्न जाँदा प्यूठानबाट भालुवाङसम्म र अर्घाखाँची हुँदै गरुसिङ्गेसम्म पैदल जाने गरेकोछु । अहिले गाउँगाउँसम्म बाटो पुगेको छ । यि कुरा एकादेशका कथा जस्ता भएका छन् ।

चिनि, चियापत्ति, भेली, मट्टितेल, तमाखु, नुन जस्ता वस्तु एक वर्षको लागि एक हप्ताको पैदलबाट भारी बोकी तराईबाट पहाड ल्याएको मेरो पुस्तासम्मलाई राम्ररी थाहा छ तर विकाससँगै भ्रष्ट आचरण पनि हामी विच निक्कै मौलायो । त्यसलाई जान अन्जान हामिले मलजल ग¥यौं र हुर्कायौं ।

हामि नेतालाई गाली गर्छाै, नेतृत्वलाई धारे हात लगाउछौं तर हामि विच कस्तो छलफल गर्छाै अथवा हाम्रो समाजमा हामि कस्ता कुरा गरिरहेका हुन्छौं एक पटक हामि आफैलाई आफैले प्रश्न गरौ ।

उदाहरणको लागि ः नेपाल सरकारको खरिदारमा लोकसेवाबाट नाम निकाल्ने दुई दाजुभाई छन् । एक जना अलि चलाख अथवा छट्टु होला एउटा इमान्दार होला । खरदारको नियुक्ति पछि एक जना भन्सार, अध्यागमन, राजश्व कार्यालय, मालपोत अथवा यस्तै यस्तैमा पुगे होला । अर्काे नेपाल सरकारका साधारण अड्डामा इमान्दारीका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको होला । जस्ले लाभ हुने कार्यालयमा नियुक्ति लियो । उसले छोटो समयमा राजधानी अथवा राम्रा शहरहरुमा घर घडेरी जोडे होला ? आफू भन्दा माथिका हाकिमहरुलाई दशैं तिहार राम्रै मनाउन सहयोग गरे होला, राजनीतिक दलहरुलाई पनि राम्रै चन्दा दिए होला । साथि भाईहरुसँग पनि साँझ साँझ राम्रै बसाई गर्छ होला, हिड्दा डुल्दा पनि राम्रै गाडी लिएर हिड्छ होला, लवाईखवाई, मोवाइल बसाई पनि राम्रै हुन्छ होला ।

तर अर्काे भाई सार्वजनिक यातायातमा आवतजावत गर्छ होला, कार्यालय पुगेर कार्यालय समयमा इमान्दारीताका साथ सेवाग्राहीको काम गर्छ होला, हाजिरि गर्दा वा स्टाफ मिटिङ वाहेक हाकिमका अगाडी हात मुसार्दैन होला, साथि भाईसँग चिया गफसम्म गरे पनि अरुमा सामेल हुन्न होला यस्तै यस्तै बारे हामी आफै चर्चा गर्छाै कि कठैवरा त्यो एक भाई कामै लाग्ने छैन, साँझ सगसँगै हुने होइन है, खर्चनै गर्दैन, त्यसलाई बढुवा सरुवा गर्ने होइन है चन्दा नै दिँदैन, त्यसलाई इमान्दारीताको पुरस्कार दिने होइन है दशैं तिहारमा मलाई हेर्दै हेरेन । यि अलि पढेलेखेका बिच हुने सम्वाद हुन् ।

सर्वसाधारणमा र घर परिवारमा पनि यस्तै चर्चा गर्छौ । हामी ससुराली जाने हो भने हाम्रा ज्वाई कामै लाग्ने छैनन । अहिलेसम्म एउटा घडेरी छैन, पुरानो गाउँको घरमा दुःख पाएका छन्, यिनले कहिले शहरमा घर बनाउलान र ? सँगै जागिर खाएकाको घरघडेरी, गाडीघोडा, सबै छन् । श्रीमति भन्छिन् हाम्रा घरका त कामै लाग्ने छैनन्, त्यो भाईको श्रीमति पहेलै भएर सुनले सजिएर हिड्छिन् । आफ्नो त सुनपानी खाने सुतलो छैन । यस्तै यस्तै कुरा गर्छाै र भ्रष्ट आचरणलाई हामी आफै प्रोत्साहन गरि रहेका हुन्छौं ।

जागिरेको मात्रै कुरा होइन नेतालाई पनि हामी भ्रष्ट हुन सहयोग गरी रहेका हुन्छौं । फलानालाई नि के टिकट दिने त्योसँगै पैसा नै छैन । यस्तालाई पनि किन उठाएको होलान् न १० जना केटा परिचालन गरेका छन्, न राम्रो होटलमा राख्छन्, न गाउँघर तिर हिड्दा खर्च पानी दिन्छन्, कठै कहाँबाट जित्छन् यिन्ले । न चार जनालाई जागिर दिए, न कहिले थुनामा पर्दा निकाले, न त मुद्धा लाग्दा आफ्नो पक्षमा उभिए यस्ता नेताका पछाडी लागेर पनि कहि काम लागिन्छ ? हामी यस्तै कुरा गरेका हुन्छौं ।

इमान्दार भएर राष्ट्रको सेवा गर्नुपर्छ भ्रष्टाचार गर्दा कुनै न कुनै दिन हामि सजायको भागिदार हुनुपर्छ कहिले भन्ने गरेका छौं ? विकासमा दुरदृष्टि भएको, कुनै पनि भ्रष्टाचार नगरी देश र जनताको लागि लाग्ने नेताका पछाडि हामि कहिल्यै सहयोग र छलफल ग¥यौं ? त्यसकारण यदि इमान्दार भएर छानविन गर्ने हो भने एउटा सिङ्गो पुस्ता नै जेल भित्र हुनेछन् । त्यति मात्र होइन देशनै एउटा विशाल जेल बन्नेछ ।

आज देशमा निर्माण भएका उद्योग नीजिकरण गर्दा हामि किन चुप लाग्यौं । महेन्द्रनगर देखि जनपुरसम्म काचोपाते सुर्ति रोपेर किसानलाई आम्दानी दिँदै जनकपुर चुरोट कारखाना चलेको थियो । दाङ, अर्घाखाँची, कपिलबस्तु, पाल्पा लगायत तराईका जिल्लामा उत्पादन भएका खर (बाँबियो), परालबाट गैंडाकोटमा भृकुटी कागज कारखाना संचालनमा थियो । कपास, सनपाट जस्ता उत्पादन तराईका जिल्लामा थिए र बुटवल धागो कारखानामा लगेर धागो उत्पादन गरि हेटौंडामा कपडा उद्योग चलेको थियो । सेना र प्रहरीलाई आवश्यक पर्ने जुत्ता (बुट) काठमाण्डौंमा रहेको बाँसवारी छाला जुत्ता कारखानाले आपुर्ति गरेको थियो ।

विरगञ्ज चिनि कारखाना, सुनवल चिनि कारखाना लगायतले तराईका जमिनमा उखुँ उत्पादन गर्ने वातावरण निर्माण गरेको थियो । विराटनगर जुट मिल, हिमाल सिमेन्ट उद्योग हेटौडा, उदयपुर सिमेन्ट कारखानाले हजारौंलाई रोजगारी दिएको थियो । ट्रलि बस, साझा बस लगायतले सेवा दिइरहेका थिए । चामल, तरकारीमा आत्मनिर्भर थियो, देश । आज एक अर्ब भन्दा धेरैको बर्षमा भारतबाट खुर्सानी मात्र आयत हुन्छ । यि त केवल केही उदाहरण मात्र हुन यि यस्ता धेरै छन् । यि सबै वेचेर खाँदा टुलुटुलु बसेर हेर्ने अलिअलि पाएकाले चाट्ने र अलि तल बस्नेले ¥याल काढेको होइन र ?

बैंक, फाइनान्स, विमा, उद्योग निश्चित व्यक्तिको हातमा छ यतिबेला १० जना उद्योग पतिले हात झिक्ने हो भने देश टाट पल्टिने वाला छ । हाम्रा पाठ्य–पुस्तक, पाठ्यक्रमले विदेश जान बाध्य पार्ने ज्ञान दिन्छन् । स्कुल, कलेज वेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् ।

नेताले देश बनाएन भन्छौं हामि पैसाका विटो बोकेर आउनेलाई समर्थन दिँदै कौडिमा विक्रि हुन्छौं । त्यसरी जितेर गएको नेताले आगामी वर्षको लागि खर्च जोहो गर्न थाल्छ । त्यतिमात्र होइन कैंयौं राजदुतावासबाट सहयोग लिइरहेको हुन्छ । मालिकको खातिर उसले जागिर गरे जस्तै मन्त्रीसम्म पुग्दा उसकै लागि काम गरिरहेको हुन्छ । त्यसकारण हरेक नेपाली स्वाभिमानि हुन आफुबाटै शुरु गरौं ।

त्यसैले हामी एक अर्कालाई होइन आफै भित्र भएको भ्रष्ट आचरणलाई सुधारौं इमान्दारीलाई सहयोग गरौं र भ्रष्टलाई बहिष्कार आफैबाट शुरु गरौं, नकी अरुलाई गाली गरेर पानी माथिको ओभानो नबनौं यस्तै छन् हिजोआजका कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *