२०७७, १९ श्रावण सोमबार १७:१५

दुई वर्षअघि पारसले दिलाएको त्यो खुसी

दुई वर्षअघि आजकै दिन नेपालले नेदरल्याण्डससँग पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेल खेल्दै थियो।पहिलो खेलमा पराजित भएपछि नेपालले डेब्यू एकदिवसीय खेलमा जित हात पार्ने अवसर गुमाएको थियो।नेदरल्याण्डसमा भएको दोस्रो खेलमा जित हात पारे नेपाललाई पहिलो पटक एकदिवसीय हात पारेर इतिहास बनाउने मौका थियो।टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा २१६ रनमै अलआउट भयो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए। कप्तानको भूमिकामा रहेका पारस खड्काले पनि अर्धसतक (५१ रन) प्रहार गरेका थिए।२ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले खेललाई अन्तिम बलसम्म लम्बाउँदा खेल रोमाञ्चक मोडमा पुगेको थियो।खेलको अन्तिम बलमा नेदरल्याण्डसलाई जितका लागि २ रन चाहिएको थियो।

अन्तिम ओभरमा बलिङ गरेका पारसले फालेको अन्तिम बलमा नेदरल्याण्डसका फ्रेड्रिक ज्याक क्लासनले प्रहार गरेको स्ट्रेट ड्राइभ अर्कोतिरको स्टम्पमा लाग्यो।त्यतिबेला अर्का ब्याट्सम्यान पउल एड्रिएन भ्यान मिकरेन क्रिजभन्दा बाहिर थिए तर पारसले क्लासनले प्रहार गरेको बल नछोएका कारणले उनी आउट भएनन्।रन लिनलाई क्लासन र भ्यान मिकरेन दुबै दौडिए। पारसले स्टम्पमा लागेर फर्किएको बल आफ्नो फलो थ्रोमा समाते र दौडिँदै गएर एउटा स्टम्प उखेले। क्लासन रन आउट भए।जससँगै नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्यो। जुन खेल नेपालले सदा सम्झिरहने छ।सो रन पूरा भएको भए म्याच टाइ हुन्थ्यो। पारसले स्टम्प उखेल्दा एउटा बेल झरिसकेको थियो भने अर्को स्टम्पमै थियो। पारसले दौडेर उखेल्नुको साटो बल स्टम्पमा फाल्दा बल स्टम्पमा नलाग्न पनि सक्थ्यो।

लागे पनि बाँकी रहेको बेल नखसेको भए क्लासन आउट हुन्नथे। अर्को बेल खसे पनि अम्पायरले क्लासनको प्रहारमा एउटामात्र बेल खसेको याद नगरेका भए रन आउट नदिन सक्थे।सो म्याचमा थर्ड अम्पायर नराखेकाले उनले क्लासनको प्रहारबाट एउटा बेल झरेको थियो कि दुइटै भनी सोध्ने अवस्था थिएन।यस्तोमा पारसले ‘प्रिजेन्स अफ माइन्ड’(तत्कालै सही निर्णय लिने क्षमता) देखाउँदै दौडेर गएर स्टम्प उखेली नेपालको जित सुनिश्चित गरेका थिए।पहिलो खेल ५५ रनले हारिसकेको नेपाल दोस्रो खेल टाइ भएको भए श्रृंखला १-० ले हार्थ्यो। पारसले तत्काल निर्णय गरेकाले नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला १-१ ले बराबरी गर्‍यो।क्रिकेटको नियमअनुसार रन आउट वा स्टम्प आउट हुन एउटा बेलमात्र झरे पुग्छ। यदि एउटा बेल झरिसकेको छ भने अर्को झरे पनि पुग्छ। तर दुबै बेल झरेको स्थितिमा हातमा बल लिएर कुनै एउटा स्टम्प उखेल्दा हुन्छ। यदि तीन वटै स्टम्प ढलिसकेका छन् भने कुनै एउटा स्टम्प गाडेर फेरि उखेल्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!